एउटै म्यानपावरका नाममा सयभन्दा बढी मुद्दा दर्ता

काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउने एउटै म्यानपावर कम्पनीका नाममा सयभन्दा बढी मुद्दा वैदेशिक रोजगार विभागमा दर्ता भएका छन्।
रोजगारमा कामदारलाई विदेश पठाउने क्रममा दुःख दिएको र समस्यामा पारेको भन्दै पीडितहरुले एउटै म्यानपावरका नाममा सयभन्दा बढी मुद्दा दर्ता गरेका हुन्।

पछिल्लो ४ वर्षको अवधिमा पीडितले विभागको मुद्दा शाखामा तीन म्यानपावर कम्पनीका नाममा सयभन्दा बढी मुद्दा दर्ता गराएका छन्। आरएन्डआर ग्वोबल ट्र्याकर प्रालिका नाममा १ सय २१, द रिभर ओभर्सिज प्रालिका नाममा १ सय १६ र प्याराडाइस इन्टरनेसनल प्रालिका नाममा १ सय ११ वटा मुद्दा विभागमा दर्ता छन्। एउटै म्यानपावरका नाममा ठूलो संख्यामा मुद्दा परे पनि विभागले म्यानपावर कम्पनीलाई कस्तो कारबाही गर्दै आएको छ भन्ने तथ्य खुलाइएको छैन।

वैदेशिक रोजगार ऐन, २०६४ मा म्यानपावर कम्पनीविरुद्ध विभागमा रोजगार पीडित कामदारले उजुरी गरेपछि एक पटक सचेत गराई जरिवाना, दोस्रो पटक जरिवाना तथा जेल सजायसम्मको कारवाही र तेस्रो पटक धरौटी जफत अथवा म्यानपावर कम्पनी खारेज गर्नसक्ने सम्मको व्यवस्था छ।
वैदेशिक रोजगारमा कामदार पठाउने म्यानपावर कम्पनीका नाममा तीन पटकभन्दा बढी उजुरी विभागमा परे त्यस्ता म्यानपावर कम्पनीलाई खारेज गर्नेसक्ने अधिकार विभागसँग छ।

तर, विभागले अहिलेसम्म धेरै मुद्दा परेका म्यानपावर कम्पनीको काम कारबाही मात्र रोक्का गर्ने गरेको पाइन्छ। ऐनमा भएको व्यवस्था अनुसार धेरै मुद्दा परेका कुनै पनि म्यानपावरलाई खारेज गरेको प्रमाण विभागसँग छैन। ऐनअनुसार कारबाही नहुँदा रोजगार व्यवसायीको मनोबल बढेर कामदारलाई दुःख दिने नियतमा नै सहयोग पुगेको स्पष्ट हुन्छ।

विभागको मुद्दा शाखामा ४ वर्षको अवधिमा २० वटा म्यानपावर कम्पनीका नाममा ५० भन्दा बढी उजुरी परेका छन्। त्यस्तै पीडितले ३० म्यानपावरका नाममा ३० वटाभन्दा बढी उजुरी दर्ता गराएका छन्।

५० वटा म्यानपावरका नाममा ४ वटाभन्दा बढी उजुरी दर्ता गरिएको शाखाको तंथ्याकमा उल्लेख छ। विभागमा मासिक ९० वटासम्म मुद्दा दर्ता हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्