आमसञ्चार माध्यममा दलित समुदायको समावेशितामा सरोकावालाहरुको जोड
काठमाडौं । आमसञ्चार माध्यममा दलित समुदायको समावेशिता र मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुर्पेमा सरोकावालाहरुले जोड दिएका छन् ।
बुधबार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषयक एक दिवसीय कार्यशालामा बोल्ने वक्ताहरुले दलित मैत्री मिडिया आवश्यक रहेको बताउँदै सञ्चार माध्यममा दलितका एजेण्डालाई विशेष प्राथमिकता दिनुपर्नेमा चासो राखेका हुन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आमसञ्चार माध्यममा दलितको भौतिक सहभागिता र विषयवस्तुको समावेश गर्नुपर्ने आवश्यक्तामा जोड दिए । समावेशी आमसञ्चार माध्यम वर्तमान् युगको माग रहेको बताउँदै उनले दलित तथा सीमान्तकृत वर्ग समुदायलाई लक्षित गरी प्राथमिकतापूर्वक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
वरिष्ठ पत्रकार तथा मधुपर्क मासिकका प्रधान सम्पादक त्रिभुवनचन्द्र वाग्लेले समावेशी आमसञ्चारको परिकल्पनाः नीति र कार्यान्वयन बीचको खाडलले उठाएका प्र्र्रश्नहरु विषयक आधारपत्र प्रस्तुत गर्दै सञ्चार माध्यममा दलित सहभागिता अपरिहार्य रहेको बताए ।
दलित अध्येता तथा सञ्चार क्षेत्रका जानकार मेघेन्द्र विश्वकर्माले आमसञ्चार माध्यममा दलितको (अ) समावेशिताको सवालः समस्या राज्यको नीति कि नियत? विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालका आमसञ्चार माध्यमहरु, व्यवसायिक संघसंगठनहरु र नियामक निकाय नै चरम् असमावेशी रहेको कुरा तथ्यांकसहित प्रस्तुत गरेका थिए ।
अध्येता विश्वकर्माले सञ्चार मन्त्रालय मातहत रहेका १८ वटा निकायहरुमा एकाध बाहेक सबैजसो निकायहरु दलितविहीन रहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान, २०७२ को मूल मर्म भनेकै समानुपातिक समावेशी र लोकतान्त्रिक राज्य व्यवस्था निर्माण गर्नु रहेको भन्दै राज्यको चौथो अंग मानिने आमसञ्चारमा समावेशिता हुनु वा नहुनुले राज्यको चरित्र पुष्टि गर्ने बताए । उनले असमावेशी रहेको मिडिया जगतले लोकतन्त्र र समावेशिताको वकालत गर्ने नैतिक धरातल गुमाउने हुँदा समावेशिताको अपरिहार्यतामा जोडदिए ।
नेपाल पत्रकार महासंघका निवर्तमान् अध्यक्ष विपुल पोखरेलले सामाजिक समावेशीकरण अपरिहार्य रहेको बताउँदै नीतिगत व्यवस्थाले विस्तारै कार्यान्वयनको प्रकृया समात्दै अघि बढिरहेको धारणा व्यक्त गरे ।
संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले आमसञ्चार माध्यममा दलित पत्रकारहरुको सहभागिता वृद्धि र दलितका मुद्दालाई पूर्ण रुपमा स्थान दिन आवश्यक रहेको बताए ।
त्यसैगरी क्रियाशील दलित पत्रकार संघका अध्यक्ष पवित्रा सुनारले नीजि सञ्चारमाध्यमहरु मात्रै नभै राज्य मातहतका सञ्चार माध्यमहरुमा दलित सहभागिता र विषयवस्तुको उठान कम भएकोमा सचेत गराउँदै त्यसतर्फ राज्यको नियामक निकाय प्रेस काउन्सिल नेपालको ध्यान जान जरुरी रहेको धारणा राखिन् ।
अधिकारकर्मी जीतेन्द्र पासवानले आमसञ्चार माध्यमहरुले मधेशी दलित र मधेशी दलित पत्रकारलाई केन्द्रमा नराखेको बताउँदै त्यसतर्फ समयमै ध्यान जान जरुरी रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रिता बुढाथोकी, रेडियो नेपालका पत्रकार भीम घिमिरे, नेपाल टेलिभिजनका पत्रकार चक्रमान विश्वकर्मा, पत्रकार सविता रसाईली लगाएतका ४० जना भन्दा बढि पत्रकार तथा अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्