स्वयम्भू महाचैत्य तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा सरसफाइ तथा रंग रोगन
काठमाडौँ, २८ वैशाख। विश्व सम्पदा क्षेत्रमा सूचिकृत स्वयम्भू महाचैत्य तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा सरसफाइ तथा रंग रोगन गरिएको छ। यसवर्ष २५६९औँ बुद्धजयन्तीका अवसरमा त्यस क्षेत्रका सम्पदास्थलमा रंग रोगन समेत गरिएको हो।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्थानीयवासी, विभिन्न संघ संस्थाहरुको समन्वयमा उक्त क्षेत्रमा सरसफाइ गरी फोहोर व्यावस्थापन गरेको हो।
यही वैशाख २९ गते बुद्धजयन्तीका दिन विश्व शान्ति तथा मानव कल्याणको कामना सहित थेरवाद, महायान र बज्रयान गरी तीनै बौद्ध सम्प्रदायका गुरुहरूबाट बुद्ध पूजा गरिने छ।
बुद्धका उपदेशलाई सामूहिक वाचन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा शान्तिको सन्देश प्रवाह गरिने छ। बौद्ध ग्रन्थहरूको गरिने पाठले सकारात्मक उर्जा प्राप्त हुने विश्वास लिइएको छ। बौद्ध साहित्यमा तीन सम्प्रदायलाई त्रियान पनि भनिन्छ ।
सम्पूर्ण मानव तथा प्राणिहरूको कल्याणका लागि बुद्धको शिक्षा उपयोगी रहेकाले उक्त सन्देश विश्वभर प्रवर्द्धन गर्न स्वयम्भू विकास मण्डलको उत्तरपट्टि बुद्ध जीवनी प्रदर्शन गरिने महासमिति सदस्य राजु कुमार लामाले जानकारी दिनुभयो।
विसं २०७२ मा भूकम्पले त्यस क्षेत्रका सम्पदामा बनाएको क्षतिग्रस्त संरचनाको जीर्णोद्धार गरी महासमितिले सोही दिन ऐतिहासिक तथा पुरातात्विक महत्वका फोटो प्रर्दशनी गर्ने कार्यक्रम छ।
स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने स्थानीय जात्रा पर्व, संस्कृतिको संरक्षण गर्दै आएको महासमितिले वैशाख पूर्णिमा मेलालाई व्यवस्थित गर्ने योजना तय गरेको महासमिति सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो।
महासमितिले २५६९औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरेको छ । उक्त समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायतका प्रतिनिधि समावेश गरिएको
छ ।
बुद्ध जयन्तीका दिन पूजा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट आउने धर्मावलम्बीका सहजताका लागि विहान ४ बजेबाट नै दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया दिनुहोस्