स्वयम्भूमा बुद्ध पूजा गरिने 

काठमाडौँ, २५ वैशाख। स्वंयम्भू महाचैत्यमा थेरवाद, महायान र बज्रयान गरी तीनै बौद्ध सम्प्रदायका गुरुहरूबाट यही वैशाख २९ गते विश्व शान्ति तथा मानव कल्याणको कामना सहित बुद्ध पूजा गरिने भएको छ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६९औँ बुद्धजयन्तीका अवसरमा आयोजना गर्ने उक्त पूजामा बौद्ध ग्रन्थहरूको पाठ गर्न लागेको हो। बौद्ध साहित्यमा तीन सम्प्रदायलाई त्रियान‌ पनि भनिन्छ ।
सम्पूर्ण मानव तथा प्राणिहरूको कल्याणका लागि बुद्धको शिक्षा उपयोगी रहेकाले उक्त सन्देश विश्व समुदायलाई प्रवाह गर्न विश्व सम्पदा सूचिकृत स्वयम्भूमा विभिन्न सम्प्रदायका गुरुहरूबाट पूजा गर्न लागिएको महासमिति सदस्य राजु कुमार लामाले जानकारी दिनुभयो। स्वयम्भू विकास मण्डलको उत्तरपट्टि बुद्ध जीवनी प्रदर्शन गरिने जनाइएको छ।
विसं २०७२ मा भूकम्पले त्यस क्षेत्रका सम्पदामा बनाएको क्षतिग्रस्त संरचनाको जीर्णोद्धार गरी महासमितिले सोही दिन फोटो प्रर्दशनी गर्ने सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिनुभयो।
स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने स्थानीय जात्रा पर्व, संस्कृतिको संरक्षण गर्दै आएको महासमितिले वैशाख पूर्णिमा मेलालाई व्यवस्थित गर्न मूल समारोह समिति गठन गरेको छ ।
महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरको संयोजकत्वमा २५६९औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरिएको हो । उक्त समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायतका प्रतिनिधि समावेश गरिएको
महासमितिका महासचिव अशोक बुद्धाचार्यले जानकारी दिनुभयो।
बुद्ध जयन्तीका दिन पूजा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट आउने धर्मावलम्बीका सहजताका लागि विहान ४ बजेबाट नै दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ।
भीड व्यवस्थित र भक्तजनलाई सहज बनाउन प्रहरी, स्काउट, स्वयंसेवकको व्यवस्था गरिएको छ। स्वयम्भू सामुदायिक अस्पतालसँग सहकार्य गरी स्वास्थ्य शिविर संचालन तथा एम्बुलेन्स तैनाथ गरिने छ।
दर्शनका लागि आउने भक्तजनलाई प्रसाद वितरण गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्