ढुक्क हुनुस सबै क्षेत्रको सिण्डिकेट हट्छ, गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले अपराध, भ्रष्टाचार र अनिमियताको अन्त्य नगरेसम्म देश विकाश सम्भव नरहेको बताएका छन ।

प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन धनगढी गएका गृह मन्त्री थापाले बुधवार विहान आयोजित पत्रकार सम्मेलनमा देशको विकाश र सम्वृदिका लागि सरकार लागि परेको बताए ।

‘सरकार सम्बृदि बनाउन लागि परेको छ । तर, देशमा व्याप्त भ्रष्टाचार, अनिमियता छ । अपराध नियन्त्रण गर्न सकिरहेका छैनौ ।’ थापाले भने, ‘अब सवै क्षेत्रमा रहेको भ्रष्टाचार, अनियमितता, कुशासन, अपराध नियन्त्रण गर्दै देशलाई सम्बृदिको बाटोमा अघि बढाउछौ ।’

थापाले भने, ‘शिक्षा, स्वाथ्य, यातायात लगायत सवै क्षेत्रमा सिण्डिकेट एकाधिकार छ । त्यसको अन्त्यका लागि अभियान सुरु भईसकेको छ । ढुक्क हुनुस सवै क्षेत्रको सिण्डिकेट हटन धेरै समय लाग्दैन ।’

यसअघि अपराधिक घटनामा भरिया मात्रै पक्राउ पर्ने गरेको भन्दै गृह मन्त्री थापाले थपे, ‘अव हामी भरियालाई हैन, मालिकलाई पक्राउ गर्न सुरु गरिसक्यौ । जसको उदाहरण हो, सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ।’

गृह मन्त्री थापाले अहिलेको समय अपराधिको अन्तिम छटपटि रहेको समेत बताए ।

प्रदेश नम्बर ७ मा सुरक्षा गोष्ठी सुरु भएको छ । गोष्ठीको गृह मन्त्री थापाले उद्घाटन गरेका छन् ।

प्रदेश ७ को सुरक्षा अवस्था र अपनाउनुपर्ने नया रणनीति तयार गर्न सुरक्षा गोष्ठीको आयोजना गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्