गभर्नर नियुक्ति ढिलाई बारे देउवाले मुख खोले
काठमाडौं,२३ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकभित्रकै समस्याले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आर्थिक नीति तथा योजना विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंक भित्रैको समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए ।
‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो,’ सभापति देउवाले भने ।
सभापति देउवाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटकपटक कुराकानी गरेका थिए । भट्टले पनि कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् तर स्वीकृत भने भएको छैन ।
विगत एक महिनादेखि राष्ट्र बैंक गभर्नरविहीन छ भने नीलम ढुंगाना अहिले कायममुकायम गभर्नर छिन्।
देउवाले पार्टीभन्दा पनि राष्ट्र राम्रो बनाउने सबैको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्ने बताए । देशको अर्थतन्त्रको क्षेत्रमा उदारीकरणका विषयमा कांग्रेसको जीत भएको भन्दै उनले दलगत स्वार्थभन्दा पनि बढी राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रमा लगानी सहज बनाउन संसदबाट पाँच वटा विद्येयक पारित भएको पनि बताए। लगानी गर्न सहज बनाउने गरी बजेट आउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्