केन्द्र सरकार मातहत: अब २१ प्रतिशत कर्मचारीमात्र रहने

काठमाडौं । संघीय सरकार मातहतमा अहिले भएका कर्मचारी २१ प्रतिशतमात्र रहने भएका छन् ।

तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशतमात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उनले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले रहेका कर्मचारीमा करीब ३० हजार मात्र केन्द्र सरकारमा रहने बताए ।

अहिले एक लाख १७ हजार दरबन्दी रहे पनि एक लाख ६ हजार कर्मचारी कार्यरत छन् ।

संघका प्राविधिक तहका कर्मचारी— इञ्जिनियर, कृषि तथा भेटरिनरीजस्ता कर्मचारीको कटौती हुने उनले जानकारी दिए । स्थानीय तहमा रहने कर्मचारीको सर्वेक्षण गरिसकेको मन्त्रालयले अब संघ र प्रदेशमा आवश्यक कर्मचारीको सर्वेक्षण गर्न थालेको छ ।

उनका अनुसार सबभन्दा थोरै प्रदेश सरकार मातहतमा कर्मचारी रहनेछन् ।

एउटा प्रदेश सरकारमा तीन हजारका दरले २१ हजारमात्र कर्मचारी रहने अनुमान गरिएको छ ।

यसअघि स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।

यसैगरी, विभिन्न मन्त्रालयमा रहेका कर्मचारीलाई कटौती गरेर प्रदेश र स्थानीय तहमा पठाइने समेत सहसचिव अधिकारीले बताए । मन्त्रालयमा रहेका २१ देखि ५४ प्रतिशत कर्मचारी कटौती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्