राजविराज विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने

काठमाडौं । सप्तरीको राजविराज विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । ५९ वर्षदेखिको लामो प्रतिक्षापश्चात सप्तरीको राजविराज विमानस्थल बिहीबारदेखि औपचारिक रुपमा सञ्चालन हुन लागेको हो ।

सप्तरीवासीको आशाको रुपमा रहेको विमानस्थलको औपचारिक उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रीसमेत रहिसकेका सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, पूर्व मन्त्री एवम् राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवसहित विशिष्ट व्यक्तित्वहरुको टोलीद्वारा औपचारिक रुपमा उद्घाटन हुन लागेको छ ।

राजविराज विमानस्थलमा श्री एयरलाइन्सको ७२ यात्रु क्षमता भएको जहाजको टेस्टिङ्ग फ्लाइट बिहीबार बिहान १० बजे हुन लागेको नेपाल नागरिक उडड्यन प्राधिकरणका परियोजना प्रमुख रामएकवाल महतोले जानकारी दिए ।

उनका अनुसार उद्घाटनपश्चात विमान कम्पनीको कार्यालयसमेत स्थापना भई नियमित विमानसेवा सुचारु हुनेछ । हाल राजविराजबाट विराटनगर हुँदै उडान हुने तथा पर्याप्त यात्रु हुन थालेपछि राजविराजबाट सीधा काठमाडौं उडान हुने महतोले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्