३३ केजी सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक

काठमाडौं – साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य नाइके गोरेलाई गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलको लामो अनुसन्धानपछि गोरे पक्राउ परेका हुन्।

गोरेलाई मंगलबार विहान ५ः ३४ बजे काठमाडौको गौरीघाटबाट पक्राउ गरेको थियो । उनलाई आजै मोरङ अदालतमा बुझाइने अनुसन्धान टोलीले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि सनम शाक्यको हत्या भएपछि सो घटना बाहिर आएको थियो ।

बैशाख १८ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएकामध्ये २९ जना भने पक्राउ परिसकेका थिए ।

छ जना पूर्व तथा वर्तमान प्रहरी पदाधिकारीमाथि सुनचाँदीको अवैध कारोवार सम्बन्धमा, छ जनामाथि ज्यान मुद्दा, १३ जना विमानका कर्मचारी र तीन जना सुन व्यापारी गरी २९ जनामाथि मुद्दा दर्ता गरिएको हो ।
गत माघ ७ गते दुवईबाट तस्करहरुले ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौँबाट हराएको थियो ।

हराएको सो सुन बेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । घटनापछि गोरे फरार थिए । उनी पक्राउ परेसँगै हराएको भनिएको सुनबारे पनि थप खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्