वर्ष २०८१ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंक घटेर बन्द भयो
काठमाडौं,३१ चैत । वर्ष २०८१ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । वर्षको अन्तिम कारोबार नेप्से परिसूचक ८.६२ अंक घटेर बन्द भएको हो ।
आइतबार नेप्से परिसूचक ८.६२ अंक घटेर २६६२.०८ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेकस ०.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । गत साताको अन्तिम कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ कम्पनीको ५४ हजार ३६१ पटकको कारोबारमा ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक र बाराही हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४० प्रतिशत घटेको छ ।
प्रतिक्रिया दिनुहोस्