ट्रम्पले पारस्परिक भन्सार शुल्क स्थगनपछि अमेरिकी सेयर बजारमा उछाल

काठमाडौं,२८ चैत । राष्ट्रपति डोनाल्ड ट्रम्पले केही पारस्परिक भन्सार शुल्कहरु ९० दिनका रोकेपछि अमेरिकी सेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो उछाल आएको छ । यससँगै, गत एक हप्तादेखि अत्यधिक दबाबमा रहेको अमेरिकी सेयर बजारले राहत पाएको सीएनबीसीले लेखेको छ ।

अमेरिकी बेन्चमार्क एसएन्डपी ५०० सूचक बुधबार एकैदिन ९.५२ प्रतिशतले बढेर ५,४५६.९० मा अडिएको छ । बुधबारको वृद्धि सन् २००८ पछिको सबैभन्दा ठूलो एकदिने वृद्धि हो । समग्र सेयर बजार सूचकांकहरुलाई हेर्दा भने उक्त वृद्धि दोस्रो विश्वयुद्धपछिको इतिहासमा तेस्रो सबैभन्दा ठूलो वृद्धि भएको सीएनबीसीले लेखेको छ ।

डाउ जोन्स सूचक पनि २,९६२.८६ अंक अर्थात ७.८७ प्रतिशतले बढेर ४०,६०८.४५ विन्दुमा बन्द भएको छ । उक्त वृद्धि सन् २०२० को मार्च महिनापछिको सबैभन्दा ठूलो वृद्धि हो । नास्ड्याक कम्पोजिट पनि बुधबार १२.१६ प्रतिशतले बढेर १७,१२४.९७ मा बन्द भएको छ । जुन सन् २००१ को जनवरी महिनापछिको सबैभन्दा ठूलो एकदिवसीय वृद्धि हो भने इतिहासकै दोस्रो ठूलो वृद्धि हो ।

अमेरिकी सेयर बजारमा बुधबार लगभग ३० अर्ब कित्ता सेयर कारोबार हुँदै वाल स्ट्रिटको इतिहासमा सबैभन्दा बढी मात्रामा कारोबार भएको दिन बनेको सीएनबीसीले लेखेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार आफ्नो ट्रुथ सोसियलमा पोस्ट गर्दै पारस्परिक भन्सार शुल्कलाई ९० दिन विराम गर्द अनुमति दिएको बताएका थिए । जसका कारण अमेरिकी सेयर बजारमा उछाल देखिएको हो

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्