महोत्तरीमा दुई क्विन्टल गाँजासहित पेस्तोल र गोली बरामद

काठमाडौं । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३, अजमरपट्टिमा प्रहरीले छापा मार्दा करीब दुई क्विन्टल लागूऔषध गाँजासहित पेस्तोल र गोली बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार सोमबार साँझ एकडारा गाउँपालिका–३ बस्ने जीतेन्द्रकुमार मण्डल र चुनचुनदेवी मण्डलको घरमा छापामारी गर्दा क्रमशः ४६ किलोग्राम र एक क्विन्टल ४६ किलोग्राम गरी एक क्विन्टल ८६ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो।

त्यस्तै, चुनचुन देवीको घरबाट अटोमेटिक पुरानो पेस्तोल थान–१ र सोही पेस्तोलमा लाग्ने तीन राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ ।

दुवैजनाले अवैधरुपमा लागूऔषध गाँजाको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी टोलीले सोमबार साँझ दुवैजनाको घरमा छापामारी गर्दा गाँजा, पेस्तोल र गोली बरामद भएको प्रहरी उपरीक्षक कडायतले जानकारी दिए ।

छापा मार्ने क्रममा दुवैजनाको घरबाट कोही मान्छे पक्राउ नपरेको तर उनीहरुको पनि खोजतलास व्यापकरुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्