एक खर्ब १५ करोड रूपैयाँ बराबरका नयाँ पाँच सयका नोट छापिँदै
काठमाडौं,१७ चैत । नेपाल राष्ट्र बैंकले पाँच सय रूपैयाँ दरका २३ करोड वटा नोट छाप्ने भएको छ । कुल एक खर्ब १५ करोड रूपैयाँ बराबरका यी नोट छापिन लागेको हो ।
यसको लागि राष्ट्र बैंकले २५ अप्रिलमा प्रि बिडिङ हुने र १४ मेसम्म बिडिङको लागि समय दिइएको छ । १४ मे पछि भने आवेदन दिन पाइने छैन ।
नोट छाप्न धरौटीको रूपमा तीन करोड ५० लाख राख्नुपर्ने हुन्छ । नोट छाप्नको लागि यसअघि नै पहिलो चरणमा ६ कम्पनी छनोट भएका छन्।
पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका हुन्।
छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेण्डर) मा प्रतिस्पर्धा गर्न सक्छन्।
यो अवधिमा जुन–जुन नोट छाप्न पर्ने हुन्छ, त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ ।
यी ६ वटै कम्पनीले यो प्रक्रियामा भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्छ । यसै अन्तर्गत अहिले पाँच सय रूपैयाँ दरका नोट छाप्न लागेका हुन्।
अहिले बजारमा ६ खर्ब ४० अर्ब बराबरका नोट चलनचल्तीमा छन्। जस मध्ये एक हजारको नोट नै चार खर्ब ५३ अर्ब रूपैयाँ बराबरका छन्। भने हाल करिब एक खर्ब २७ अर्ब रूपैयाँ बराबरका पाँच सयका नोट रहेका छन्।















प्रतिक्रिया दिनुहोस्