वीरगञ्ज नाकाबाट ८ महिनामै १ खर्ब २२ अर्बको इन्धन आयात
काठमाडौं,११ चैत । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो अवधिमा डिजेल, पेट्रोल, एलपिजी ग्यास, एभिएसन टर्बाइन फ्युल र मट्टितेल आयात भएको हो ।
गत आवको यसै अवधिको तुलनामा यस वर्षको १ अर्ब ६७ करोडले बढी इन्धन आयात भएको कार्यालयले जनाएको छ । अघिल्लो वर्षको आठ महिनामा रु १ खर्ब २० अर्ब ५३ करोड बराबरको इन्धन आयात भएको थियो ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार अहिले पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेकाले पेट्रोलियम पदार्थको माग र आपूर्ति दुवै बढेको देखिएको हो ।
चालु आवको आठ महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ५० अर्ब १३ करोड राजस्व संकलन भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यो राजस्व रु ४४ अर्ब ८० करोड मात्र थियो ।
डिजेलतर्फ मात्रै ६ लाख ८५ हजार ९९१ किलोलिटर आयात भएको छ, जसको मूल्य रु ६१ अर्ब ४५ करोड पुगेको छ । सोबाट रु २७ अर्ब ३१ करोड राजस्व संकलन गरिएको छ ।
त्यस्तै, पेट्रोलको आयात २ लाख ९० हजार ३८२ किलोलिटर पुगेको छ, जसको मूल्य रु २५ अर्ब ३० करोड र संकलित राजस्व रु १६ अर्ब ४८ करोड रहेको छ ।
एलपिजी ग्यासतर्फ चालु आवको आठ महिनामा २१ करोड ४२ लाख ७८१ किलोग्राम आयात भएको छ, जसको मूल्य रु २४ अर्ब ५ करोड रहेको छ । यसबाट रु ४ अर्ब ५० करोड राजस्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्