जिल्लाबासी कर्मचारीद्वारा अप्पर तामाकोशीमा धर्ना शुरु

काठमाडौं, १० चैत । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत दोलखा जिल्लाबासी स्थानिय कर्मचारीहरुले आज (चैत १० गते) देखि शान्तिपूर्ण धर्ना तथा विरोध सभा सुरु गरेका छन्।

कम्पनी व्यवस्थापनले विगत २ वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा सुविधामा विभेद गरिएको भन्दै गत असोजमा पनि धर्ना दिएको थियो। तर, असोज ६ गते कम्पनी व्यवस्थापन र दोलखा जिल्लाबासी कर्मचारीहरुद्वार गठित संघर्ष समितिका प्रतिनिधिहरुबीच माघ मसान्तसम्ममा सबै कर्मचारीहरुको सेवा सुविधामा समानता कायम गर्ने द्विपक्षीय सहमति पछि धर्ना कार्यक्रम रोकिएको थियो।

सहमति कार्यान्वयनका लागि संघर्ष समितिले माघ १ गते संयुक्त स्मरण पत्र र पछिल्लो पटक फागुन २८ गते ताकेता पत्र पेश गरेको समितिले बताएको छ। सोपश्चात पनि कम्पनीको व्यवस्थापन समितिले सोको वेवास्ता गरी सहमति कार्यान्वयन नगरेकोले आगामी आइतबारदेखि पुनः शान्तिपूर्ण धर्ना तथा विरोध सभा कार्यक्रम सुरु गरेको हो।

दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समितिले आज र भोली प्लान्ट ओपरेसनको लागि दोलखा जिल्लाबासी कर्मचारीहरु भन्दा बाहेकका सवारी चालक कर्मचारीद्वारा पोर्टलमा रहने गरी १ वटा सवारी साधन सञ्चालन गर्न दिने बताएको छ। त्यस्तै, चैत १२ गतेदेखि सहमति कार्यान्वयन नभएसम्म प्लान अपरेशनमा भैपरी आउने आपतकालीन अवस्थाबाहेक कम्पनीको कुनै पनि सवारी साधन सञ्चालनमा रोक लगाउने बताएको छ। समितिले गोंगरस्थित कार्यालयको कामकाज पनि ठप्प गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्