२६ औं फ्लोरा एक्स्पोको तेस्रो दिनसम्म १७ हजार बढीले गरे मेला अबलोकन
काठमाडौँ,४ चैत । भृकुटीमण्डपमा शुक्रबार देखि शुरु भएको २६ औँ फ्लोरा एक्स्पोमा तेस्रो दिन ३० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ । तेस्रो दिन मेलामा १७ हजार भन्दा धेरैले अबलोकन गरेका एशोसिएशनले बताएको छ ।
मेलाको तेस्रो दिन फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना तथा लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा पुष्प ब्यबसायी, मेला अबलोकनकर्ता, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
सोमबार सम्म चल्ने सो पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँ भन्दा बढीको कारोवार गर्ने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपालको रहेको छ ।
मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रबेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निशुल्क प्रबेशको ब्यबस्था गरिएको मेला सहसंयोजक सुमन महर्जनले बताए ।
एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भइरहेको कार्यक्रम संयोजक तथा फ्लोरिकल्चर एशोसिएशन नेपालका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचे अनुरुपनै कारोबार हुनेमा आफू बिस्वस्त रहेको पनि संयोजकले बताए ।
नेपालमा बि.सं. २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको ईतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र बि।सं। २०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरु रहेको थियो ।
वि.सं. २०४९ सालमा संस्थागत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपालको स्थापना पश्चात मात्र पुष्पको व्यवसायीक बिकास, बिस्तार र प्रबद्र्धनले गति लिएको हो ।
हाल बढ्दो शहरीकरणको विकास तथा विस्तारसंगै सातै प्रदेशका मुख्य शहरहरु लगायतका अन्य क्षेत्रमा पुष्प व्यवसाय फैलदो अवस्थामा रहेको छ ।
हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको, ११७४ भन्दा बढि पुष्प व्यवसायीहरु संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी रु ८ अर्व ८३ करोड भन्दा बढि रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरि ५१,५०० भन्दा बढि जनशक्तिहरु रोजगार रहेका र पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्व ६८ करोड भन्दा बढि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्