नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, उत्पादनशील क्षेत्रमा लगानी गर्न अर्थसचिवको जोड
काठमाडौं, ४ चैत । नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । कोषले वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौैमा एक विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको हित र उत्पादन क्षेत्रमा उपयोग गर्नुपर्ने बताएका छन्।
उनले नागरिकको हितका लागि कोषहरुको लगानीलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने बताउदै नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्ने कुरामा ध्यान दिन आग्रह गरे । उनले कोष नागरिकको हितमा रही नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन जरुरी रहेको बताए।
उनले भने, ‘नागरिकको हितका लागि यसको लगानीलाई उत्पादनशिल क्षेत्रमा कसरी अघि बढाउने, नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरा पनि राख्नुभएको छ । कोषको कार्यदिशा त्यही दिशामा हुनुपर्छ । सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन थप मार्ग निर्देशक र प्रेरणादायी दिनको रुपमा आजको दिन हुनेछ ।’
नागरिक लगानी कोषका अध्यक्ष डा. सूर्यबहादुर थापाले चालु आवको पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाहरुको दुई खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको बताए । यस अवधिमा दुई खर्ब ६४ करोड ७८ लाख लगानी गरेको अवस्था रहेको बताए । कृषि,पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बिस्तर गर्नेतर्फ कोष अग्रसर रहेको बताए । कोषको कार्य सम्पादन वृद्धिका लागि उच्च योगदान गर्न आग्रह गरे ।
कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषले लगानीलाई विविधिकरण, डिजिटलाइजेसन र अटोमेसनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए छन् ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म कोषले करिव २ खर्ब ७० अर्व रुपैया लगानी गरेको छ । कोषले आफ्नो सेवालाई प्रभावकारी बनाउन यान्त्रिककरणमा विशेष जोड दिदै कोषको हिसाब किताबलाई चुस्त दुरुस्त राख्न तथा सेवाग्राहीलाई छिटो छरितो एवं झन्झट रहित सेवा प्रदान गर्न डिजिटलाइजेसन र अटोमेसनलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आइरहेको कार्यकारी निर्देशक कार्कीले बताए । सेवाग्राहीलाई सूचनाका लागि सि.आई.टि. स्मार्ट मोवाईल एप कार्यान्वयन र राष्ट्र सेवक कर्मचारीबाट संकलन हुने रकमलाई केन्द्रिय लेखा प्रणाली (सि.जि.ए.एस) व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी कोषको रकम विविधिकरण र डिजिटलाइजेसनसँगसँगै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । उनले लगानीको सुरक्षित क्षेत्र पर्यटन, हाईड्रो लगायत क्षेत्रमा लगानी गर्न उपयुक्त हुने बताउँदै यसबाट नागरिकको लगानीमा उच्च प्रतिफल प्राप्त गर्न सकिने बताए । यसले गर्दा देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागी वक्ताहरुले आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसकेसम्म देशमा दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने बताए ।
कोषले सहभागीको अवकाश जीवनलाई सहन बनाउन आवश्यक पर्ने वित्तिय स्रोतका लागि विभिन्न अवकाश योजना सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रममा उत्कृष्टहरु खेलाडी तथा वत्ताहरुलाई पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियो । साथै उत्कृष्ट कर्मचारीहरुलाई पनि ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्