त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ । यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको हो ।

यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको छ ।

विमानस्थलमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय उडानलाई थप प्रभावकारी बनाउन सञ्चालनमा नयाँ पन दिन लागिएको हो ।

एउटामात्रै विमानस्थल हुँदा सामान्य दुर्घटना हुँदा समस्या आउने, लामो समयसम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्नेजस्ता जटिलताका कारण पनि सरकारले दिन, रात दुवै समयमा विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो ।

हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि पनि सञ्चालन अवधि बढाइएको हो ।

यसअघि विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भैरहेको थियो । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन अवधि लम्ब्याउन निर्देशन दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्