चिनियालाल सिंह र नारदमुनी थुलुङको हुलाक टिकट प्रचलनमा (परिचयसहित)
काठमाडौं, २८ फागुन । हुलाक सेवा विभागले २ नयाँ टिकट प्रचलनमा ल्याएको छ । विभागले प्रसिद्ध राजनीतिज्ञ स्व. चिनियालाल सिंह र स्व. नारदमुनी थुलुङको हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, विभागका महानिर्देशक मनमाया भट्टराई (पंगेनी) ले संयुक्त रुपमा टाचा लगाई टिकट प्रचलनमा ल्याएको हो । रु. १० को दरले पाँच/पाँच लाख गरी जम्मा दश लाख टिकट चलन चल्तीमा ल्याइएको छ । मंगलबार हुलाक सेवा विभागमा आयोजना गरिएको फिलाटेलिक कार्यक्रम –२०२४ अन्तर्गत प्रकाशित हुलाक टिकटहरुमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको हो ।
मन्त्री गुरुङले नेपालको राजनीतिक, शैक्षिक रुपान्तरणमा योगदान र्पुयाएका चिनियालाल सिंह र नारदमुनि थुलुङको प्रथम हुलाक टिकट आवरणमा टाँचा प्रदान गरेका थिए । साथै मन्त्रालयले यो वर्षभित्र सुरक्षण मुद्रण केन्द्रमार्फत स्वदेशमै सुरक्षासम्बन्धी सम्पूर्ण कागजात छाप्ने तयारीमा रहेको मन्त्री गुरुङले जानकारी दिए । मन्त्री गुरुङले राजा फर्काउनु भनेको उज्यालोबाट अध्यारोतर्फ फर्किनु रहेको प्रष्टाए ।
स्व. नारदमुनी थुलुङ: प्रजातन्त्रवादी प्रसिद्ध राजनीतिक व्यक्तित्व स्व. नारदमुनी थुलुङको जन्म वि.सं. १९६५ चैत्र २७ गते साविक नौलेगाउँ, छिन्नामखु, भोजपुर हाल टेम्केमैयुङ गाउँपालिका वडा नं. २ भोजपुरमा भएको हो। उहाँको औपचारिक शिक्षा दयानन्द एङ्गलो वैदिक हाई स्कूल -डि.ए.भि. स्कूल_ देहरादून, भारतमा सन् १९१६ देखि १९२१ मा प्रारम्भिक तहसम्म तथा निम्न माध्यमिकदेखि माध्यमिक तहसम्म सरस्वती हाई स्कूल, दरभङ्गा, भारतमा सन् १९२१ देखि १९२४ सम्म भएको थियो ।
स्व. नारदमुनी थुलुङले सन् १९२५ देखि १९३० र १९३४ देखि १९४६ गरी २ पटकसम्म बेलायती भारतीय गोर्खा सैन्यमा भर्ना भई सैनिक जीवन समेत व्यतित गर्नुभएको थियो ।
शिक्षा क्षेत्रमा योगदान: स्व. नारदमुनी थुलुङको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान छ। उहाँले वि=सं= २००४ मा भोजपुर बजारमा उदय प्राइमेरी स्कूल स्थापना गरी पठनपाठन शुरु गराउनु भएको थियो। वि=सं= २००८ मा भोजपुरको टक्सारमा विद्योदय हाई स्कूल स्थापना गर्नुभयो। हाल उदय प्राइमेरी स्कूल र विद्योदय हाई स्कूललाई गाभीई नयाँ नामाकरण भई उच्च माध्यामिक तहसम्म पढाइ सञ्चालन गरिएको छ। त्यसैगरी, स्व. नारदमुनी थुलुङले वि.सं. २०२६ मा उदयपुरको बसाहामा नारद आदर्श हाई स्कूल स्थापना गर्नुभएको थियो। हाल उक्त विद्यालयमा उच्च माध्यामिक तहसम्म पठनपाठन हुने गरेको छ भने नारद आदर्श शिक्षा क्याम्पस स्थापना गरी वि.वि.एस तहसम्म पढाइ हुने गरेको छ। भोजपुर र उदयपुर जिल्लाको शैक्षिक विकासमा योगदान गर्नुभएकोले भोजपुर जिल्लाको सदसमुकाममा र उदयपुरको बसाहामा स्व. नारदमुनी थुलुङको शालिक स्थापना गरिएको छ।
राजनीतिक क्रान्ति: स्व. नारदमुनी थुलुङले बेलायती भारतीय गोर्खा सैनिक हुँदा देखि नै क्रान्तिको तयारी गर्नुभएको थियो। दोस्रो विश्व युद्ध समाप्तिपछि सैनिक साथीहरुसँग छलफल गरी हातहतियार सङ्कलन शुरु गर्ने काम गर्नुभयो । भोजपुरमा विद्यालय स्थापनासँगै भूमिगत राजनीतिक प्रचार र संगठन निर्माणको शुरुवात समेत गर्नुभएको थियो। वि.सं. २००७ मंसिर २० मा गोप्य बैठक बसी भोजपुर कब्जा गर्ने योजना निर्माण गर्नुभयो र वि.सं. २००७ मंसिर २४ गते शनिवारको दिन भोजपुर कब्जा गर्दै क्रान्तिको प्रारम्भ गरी पूर्वको चैनपुर, ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटा अनि पश्चिमको दिक्तेल, ओखलढुङ्गा, दोलखा, सिन्धुलीगढीदेखि धुलिखेलसम्म कब्जा गरी जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको अभ्युदयको लागि नेतृत्व गर्नुभएको थियो।
स्व. नारदमुनी थुलुङले भोजपुर कब्जासँगै भोजपुर सामयिक सरकार गठन गरी क्रान्तिको हेडक्वाटरको रुपमा स्थापना गर्नुभयो। उक्त सरकारको विधान निर्माण गरी कब्जा भएका जिल्लाहरुमा शान्ति सुव्यवस्था र प्रशासनिक व्यवस्था कायम गर्न नेतृत्व गर्नुभएको थियो। साथै, ती जिल्लाहरुमा अलग अलग स्थानीय सामयिक सरकारको गठन गरी नेतृत्व गर्नुभएको थियो। प्रजातन्त्रको स्थापना भएपछि सामयिक सरकार विघटन गरिएको थियो।
नेपाल सरकारको मन्त्री: वि.सं. २००८ देखि २०११ सम्म विभिन्न समयमा तत्कालीन नेपाल सरकारको मन्त्रिपरिषद् सदस्य समेतभई स्व. नारदमुनी थुलुङले सेवा गर्नुभएको थियो। त्यसैगरी, वि.सं. २००८ मा सल्लाहकार सभा सदस्य नियुक्ती हुनुभएको थियो भने वि.सं. २०१९ देखि २०४७ सालसम्म राजसभा सदस्य रहनुभएको थियो।
नेपाल सरकारको मन्त्री: जहानियाँ निरङ्कुश राणा शासनको विरुद्ध पूर्वाञ्चलबाट नेतृत्व गरी प्रजातन्त्र स्थापना गर्न योगदान पुर्याउनु भएको र भोजपुर र उदयपुर जिल्लाको शैक्षिक विकासमा पुर्याउनु भएको तथा योगदानको कदर गर्दै स्व. नारदमुनी थुलुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट मिति २०८१ फागुन १५ गते निर्णय भएको थियो। सोही बमोजिम हुलाक सेवा विभागले स्व. नारदमुनी थुलुङको तस्वीर अंकित रु. १० -दश_ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ। उहाँको मृत्यु वि.सं. २०४७ साल माघ २२ गते भोजपुरमा भएको थियो।
प्रसिद्ध राजनीतिज्ञ स्व. चिनियाँलाल सिंह:
प्रसिद्ध राजनीतिज्ञ स्व. चिनियाँलाल सिंहको जन्म विक्रम सम्वत् १९६३ असार १७ गते ख्युलटोल भेडासिंह बाङ्गेमुडा काठमाडौंमा पिता दिप सिंह र माता देवलाली सिंहको कोखबाट भएको थियो। तीन दाजुभाई मध्ये कान्छो छोराको रूपमा स्व. चिनियाँलाल सिंहको जन्म भएको थियो। उहाँले म्याट्रिक पास गर्नुभएको थियो। उहाँले विक्रम सम्वत् १९८० मा १७ वर्षको उमेरमा तुलसीदेवीसँग विवाह बन्धनमा बाँधिनुभएको थियो। उहाँको व्यक्तित्व विनम्र स्वभावको, हट्टाकट्टा, न्यायप्रेमी, शिक्षाप्रेमी, प्रजातन्त्र प्रेमी, देशभक्तभावले भरिपूर्ण थियो।
स्व. चिनियालाल सिंहले गर्नुभएको योगदान: स्व. चिनियाँलाल सिंहले जहाँनिया राणा शासनका विरुद्ध शैक्षिक चेतना फैलाई प्रजातन्त्र ल्याउन आफै जेलमा परी क्रान्तिको संवाहक बन्नुभएको थियो। उहाँले विक्रम सम्वत् १९९३ फागुन महिनाको शिवरात्रिका दिन आफ्नै घर बाङ्गेमुडा ख्युलटोलमा महाविर इन्स्टिच्युट नामको निजी क्षेत्रको पहिलो विद्यालय स्थापना गरी सञ्चालन गर्नुभएको थियो। निम्न माध्यमिक तह कक्षा ७ सम्म पढाइ हुने उक्त विद्यालयमा पठनपाठनका साथसाथै तत्कालीन जागृत युवाहरू, समाजसेवीहरू र चार राष्ट्रिय सहिदहरू सहिद दशरथ चन्द, सहिद धर्मभक्त माथेमा, सहिद शुक्रराज जोशी र सहिद गङ्गालाल श्रेष्ठहरूले राणा शासन विरोधी राजनीतिक गतिविधिहरू सञ्चालन गरी २००७ सालको क्रान्तिको आह्वान गर्नुभएको थियो।
उक्त विद्यालयमा कविवर सिद्धिचरण श्रेष्ठ, कलाकार चन्द्रमान मास्के, खड्गमान सिंह लगायत तत्कालीन चेतनशील व्यक्तित्वहरू संलग्न थिए। सोही क्रममा चिनियाँलाल सिंहको सर्वस्वहरण गरी उहाँलाई जेलमा कैद गरियो र आजीवन कारावास तोकियो । उहाँले जेलमा परेका बेला सबै साथीहरूसँग मिलनसार व्यवहार गर्नुहुन्थ्यो।
स्वर्गीय नेता गणेशमान सिंहलाई जेलबाट भगाउँदा जेलमा दिएको कपडालाई ठाउँ ठाउँमा गाँठो पारेर जेलको पर्खालमा अड्काई त्यही गाँठोमा टेक्दै पर्खाल उक्लिएर स्व.गणेशमान सिंह भाग्नुभएको थियो। यस्तो अक्कल बुद्धि र तरिका गर्ने काम स्व. चिनियाँलाल सिंहले गर्नुभएको थियो। स्व. गणेशमान सिंहले जेलबाट भागेर बाहिर निस्केपछि देशमा प्रजातन्त्र ल्याउन क्रान्तिलाई सफल पार्न ठूलो भूमिका खेल्नुभएको थियो। जेलमा रहेको बेला स्व. चिनियाँलाल सिंहको स्वास्थ्य बिग्रदै गई विषम् ज्वरोआएको बेलामा दही चिउरा खान दिई यातना दिएर जेल मुक्त गरे पनि तत्कालै वि.सं. २००१ असार २६ गते कठोर यातनामा नै उहाँको मृत्यु भयो ।
निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गर्न स्व.चिनियाँलाल सिंहले गर्नुभएको योगदानको उच्च सम्मान गर्दै उहाँको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट मिति २०८१ फागुन १५ गते निर्णय भएको थियो। सोही बमोजिम हुलाक सेवा विभागले स्व. चिनियाँलाल सिंहको तस्वीर अंकित रु. १० -दश_ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ।
त्यस्तै, कार्यक्रममा प्रतिनिधिसभा सदस्य हेमराज राईले हुलाक टिकटमार्फत राज्यलाई सुमार्ग निर्देशन गर्ने दुई व्यक्तित्वको इतिहास संरक्षण गर्नु प्रशंसनीय कार्य रहेको बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी, चिनियालाल श्रेष्ठको तर्फबाट बुद्धिनारायण श्रेष्ठ र नारदमुनी थुलुङको तर्फबाट युवराज राईले उहाँहरुको योगदान र व्यक्तित्वको विषयमा चर्चा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्