धार्मिक कार्यक्रममा भाग लिन करिब एकहजार प्रतिनिधि लुम्बिनीमा
काठमाडौँ, २१ फागुन। बुद्ध जन्मस्थल लुम्बिनीमा हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहमा करिब दुई हजार प्रतिनिधि सहभागी भएका छ्न्।
उक्त प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय तहका भिक्षु, धर्म गुरुहरू, अनुयायी, शुभेच्छुकलगायत सहभागी भएका हुन ।
अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० गते देखि २५ गतेसम्म लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजना गर्ने धार्मिक कार्यक्रममा आजदेखि वाचन शुरु भएको हो। विभिन्न १६ मुलुकका धर्मगुरु तथा भिक्षु समेत सहभागी हुने कार्यक्रम छ।
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी विकास कोषका अध्यक्ष लार्ह्याक्याल लामा र महासंघका अध्यक्ष भिक्षु बोधिसेन महास्थविरले दीप प्रज्ज्वलन गरी कार्यक्रम शुभारम्भ गर्नुभएको हो।
विश्व शान्ति तथा मानव कल्याणका लागि गर्न लागिएको उक्त त्रिपिटक वाचन समारोहमा महास्थवीर, भिक्षुभिक्षुणी, उपासकउपासिकासहित अल्पकालीन श्रामणेरहरूको पनि सहभागिता रहने महासंघका कोषाध्यक्ष भिक्षु बोधि ज्ञान महास्थविरले जानकारी दिनुभयो।
त्रिपिटकमा बौद्ध धर्म, साहित्य तथा दर्शनको संग्रह गरिएको छ। यसमा सूत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको पाठ गरिएको छ । थेरवादी बौद्ध अनुयायीले यसलाई मूल ग्रन्थका रूपमा मान्ने गर्दछन्।
महासंघले बौद्ध साहित्यको प्रवर्द्धन गर्न सम्बन्धित पाठ्यक्रम अनुसार विध्यालयदेखि स्नातकोत्तर तहसम्म शैक्षिक कक्षा सन्चालन गरेको छ। रासस
प्रतिक्रिया दिनुहोस्