एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले महंगियो, निगमले नै व्यहोर्ने, उपभोक्ताले तिर्नुपर्दैन

काठमाडौं,२० फागुन । खाना पकाउने एलपी ग्यासको भाउ महंगिएको छ । ग्यास प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको हो ।

निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले ग्यासको भाडा समायोजन गर्ने सम्बन्धी निर्णय गरेको हो ।

नेपाल आयाल निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमति भए पनि उपभोक्तामाथि भने उक्त भार नथपिने भएको छ ।

नेपाल आयाल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनि त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै व्यहोर्नेछ । निगमको सञ्चालक समितिले बैठक उक्त निर्णय लागू गर्नेछ ।’

नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिले प्रतिसिलिन्डर ३३० रुपैयाँ निगमलाई घाटा छ । ठाकुरले भने, ‘अहिले दैनिक रूपमा १ लाख सिलिन्डर बिक्री हुने गरेको छ । निगमलाई प्रतिसिलिन्डर ३३० रुपैयाँ घाटा छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच बैठक बसेको थियो ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको वार्ताबाट ५ बुँदे सहमति भएको छ ।

उक्त सहमतिमा फागुन १८ गते, बाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशाषनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रति सिलिण्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एल।पि। ग्यास उद्योग संघका पदाधिकारीहरूलाइ जानकारी गरिएको उल्लेख गरिएको छ ।

फागुन १८ गतेको निर्णय पश्चात् पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई हाल ग्यास उद्योगीलाइ दिइरहेको मुनाफा प्रति सिलिण्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने विषयमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने पनि सहमति भएको छ ।

निगम र संघ दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने तथा निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका विषयमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ ।

एल.पि. ग्यास उद्योग संघले हाल जारी राखेको विरोधको सम्पूर्ण कार्यक्रमहरू तत्काल फिर्ता लिने र सबै ग्यास उद्योगीहरूले निगमबाट नियमित रूपमा पि.डि.ओ लिएर एल।पि।ग्यासको आपूर्ति सहज बनाउने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्