पठाओ, इन्ड्राइभ लगायतका राइडरलाई पनि समेटेर दुई प्रकारको लाइसेन्सको व्यवस्था गरिदै
काठमाडौं, १९ फागुन । अब सरकारले दुई प्रकारको लाइसेन्स प्रयोगमा ल्याउने भएको छ । पछिल्लो समय सार्वजनिक बस र स्कुल बसको दुर्घटना बढ्दै गएपछि सरकारले व्यक्तिगत र व्यवसायिक गरी भिन्न प्रकारको लाइसेन्स जारी गर्न लागिएको हो ।
व्यक्तिगत लाइसेन्स प्रयोग गरेर व्यक्तिगत बाइक र गाडी चलाउन पाउँछन् । भने, सार्वजनिक बस, स्कुल बस, पठाओ।इन्ड्राइभ जस्ता राइड सेयरिङ एपवाला चालकलाई व्यवसायिक लाइसेन्स दिने गरी यातायात व्यवस्था विभागले तयारी थालेको छ ।
त्यसका लागि सवारी तथा यातायात ऐन २०४९ लाई संशोधन गर्न लागिएको छ । विभागले लाइसेन्स निकालेको समय र अनुभवको आधारलगायतलाई आधार मानेर व्यवसायिक लाइसेन्स दिने छ । त्यसका लागि कक्षा ८ पास गरेको हुनुपर्नेछ । यात्रुवाहक सवारीसाधनका चालकलाई थप जिम्मेवार बनाउन व्यवसायिक लाइसेन्सको व्यवस्था गर्न लागिएको हो ।
यातायात सुधार सुझाव कार्यदलको दिएको प्रतिवेदनमा के छ ?
२०८० माघ १८ गते मन्त्रालयमा बुझाइएको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनमा व्यवसायी र गैरव्यवसायिक लाइसेन्सको प्रस्ताव गरिएको छ । यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको ७ सदस्यीय समिति बनाइएको थियो ।
१ वर्षको अध्ययनपछि बुझाइएको प्रतिवेदनमा चालक अनुमति पत्र व्यवस्थापनको कार्य योजनामा परिकल्पना वा लक्ष्यमा दुई प्रकारको लाइसेन्स वितरण गर्न सकिने उल्लेख छ ।
सँगै फरक परीक्षा प्रणाली र नवीकरण प्रणाली प्रयोग गर्न सकिने पनि सुझाव दिइएको थियो । सार्वजनिक सवारी लाइसेन्सधारीलाई तोकिएको पोसाक र परिचयपत्र अनिवार्यको व्यवस्था गर्न भनिएको छ ।
साधारण सवारी चालक अनुमति पत्रको बहाल अवधि १० वर्ष तर चालकको स्वास्थ्य तथा मानसिक अवस्थाको आवधिक परीक्षण सुनिश्चित गर्न व्यावसायिक चालक अनुमति पत्रको बहाल अवधि ५ वर्ष बनाउनुपर्ने उल्लेख छ ।
हाल सार्वजनिक सवारी चलाउने र अन्य प्रकारका सवारी चलाउने चालकका लागि एकैखाले सवारी चालक अनुमति पत्र परीक्षा प्रणाली, अनुमति पत्र र नवीकरण प्रक्रिया अभ्यासमा रहेको छ ।
यातायात व्यवसायी के भन्छन् त ?
राज्यले दुई प्रकारको लाइसेन्स भनेर सवारी चालकलाई दुस्ख दिने नियत गर्न लागेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाको जिकिर छ ।
उनले नेपाल प्रेससँग भने, ‘एक पटक कारवाहीमा परेका सवारी चालकले व्यवसायी सवारी चालक अनुमति पत्र लिन नपाउने भन्ने विषय नै गलत रहेको छ । चालकलाई विभिन्न नीति नियम थपेर दुस्ख दिँदा समस्या पर्छ । राज्यले पैसा उठाउनका लागि दुई प्रकारको सवारी चालक अनुमति पत्र दिन लागेको हो भने यो गलत छ । निजी क्षेत्रले सार्वजनिक सवारी ठुलो लगानी गरेको छ । त्यो कुरा राज्यले बुझ्नुपर्छ ।’
के भन्छ त विभाग ?
यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले सार्वजनिक सवारी चालकलाई जिम्मेवार बनाउन दुई प्रकारको लाइसेन्स कार्यान्वयनमा ल्याउने कानून निर्माणको काम सुरू भएको बताए ।
पोखरेलले भने, ‘लाइसेन्स लिएको समय, कारवाहीमा परेको विवरण र ट्राफिक नियमलाई ध्यानमा राखेर नै व्यवसायिक लाइसेन्स वितरण हुन्छ । सवारी तथा यातायात ऐन, २०४९ लाई संशोधन गरेर व्यक्तिगत र व्यवसायिक लाइसेन्सको व्यवस्था गर्न लागिएको हो । यसले सार्वजनिक सवारी दुर्घटनालाई न्यूनीकरण गर्छ । कानून संशोधन गरेर भएर आएपछि व्यवसायिक लाइसेन्स वितरण सुरू हुन्छ । पठाओ र इन्ड्राइभ चालकले पनि व्यक्तिगतलाई व्यवसायिक लाइसेन्स बनाउन पर्छ । ट्रायल नै फरक भन्ने अहिलेसम्म बन्दै गरेको कानूनमा छैन । कानून बनेर आउँदा कसरी आउँछ त्यसै अनुसार हुन्छ ।’
व्यवसायिक लाइसेन्स कस्तालाई दिइन्छ त ?
सरकारले व्यक्तिगत र व्यवसायी गरी दुई प्रकारको लाइसेन्स दिने भएको हो । अहिले लिएको लाइसेन्सलाई अनुभव र समयको आधारमा पनि व्यवसायिक लाइसेन्समा परिणत हुने छ । सुरूमा नै यो लाइसेन्स भने पाइने छैन ।
शारीरिक अवस्था ठिक नभएका सवारी चालकले व्यवसायिक लाइसेन्स पाउँदैनन् । भने, ट्राफिक नियम धेरै उल्लंघन गरेकाले व्यक्तिगत लाइसेन्स व्यवसायीमा परिणत गर्न पाउँदैनन् । आपराधिक कार्यमा संलग्न भएकाले पनि व्यवसायिक लाइसेन्स पाउँदैनन् ।
त्यस्तै लाइसेन्सका लागि योग्य उमेर पनि थप गरिने भएको छ । हालको कानूनले १६ वर्षमा दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र दिने व्यवस्था रहेको छ । भने, अब नयाँ बन्ने कानुमा १८ वर्षमा मात्रै लाइसेन्स लिन पाउने व्यवस्था हुने लागेको हो । साना सवारीको लाइसेन्स लिन पनि २३ वर्ष हुने पर्ने गरी कानून बन्दैछ ।
प्रतिक्रिया दिनुहोस्