वीरगञ्ज नाकाबाट ७ महिनामा ४० अर्ब ३४ करोडको सामान निर्यात
काठमाडौं,१५ फागुन । वीरगञ्ज भन्सार नाका हुँदै चालु आ.व.को सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएको छ ।
वीरगञ्ज नाकाबाट गत आवको यसै अवधिको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।
मुलुकभर रहेका साना र ठूला २८ भन्सार नाकामध्ये वीरगञ्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१ दशमलव ७२ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए ।
वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड रुपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ । यसै अवधिमा चार अर्ब ६३ करोड रुपैयाँ मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल पनि निर्यात भएको छ ।
तीन अर्ब ९६ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस विदेश निर्यात भएको छ । त्यस्तै गरी तीन अर्ब १२ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
एक अर्ब ६० करोड रुपैयाँ मूल्य पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ मूल्य पर्ने पशु आहारको कच्चा पदार्थ पिना चोकर भुस निर्यात भएको छ ।
प्रतिक्रिया दिनुहोस्