नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब तरलता खिच्दै
काठमाडौं,६ फागुन । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो । आज फागुन ६ गते उक्त २२ दिने अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ ।
अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि गएको खण्डमा तरलता बजारमा पठाउने गर्छ । त्यसैगरी, ३ प्रतिशत भन्दा तल आएको खण्डमा बजारबाट तरलता खिच्छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी मिति फागुन २८ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले फागुन ४ गते पनि ४० अर्बको निक्षेप संकलन उपकरण जारी थियो । जसमा १२ बैंकहरुले २१ आवेदन मार्फत ३३ अर्ब १५ करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ ।















प्रतिक्रिया दिनुहोस्