आहारारा पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि सुरु हुँदै
काठमाडौं, २२ माघ। मोफसलकै सबैभन्दा चर्चित मानिएको आहारारा पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
नकआउट फुटबल प्रतियोगितामा यस पटक ३ विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा साविक विजेता त्रिभुवन आर्मीएफसीसहित ए डिभिजनका ७ क्लब, बी डिभिजनका १ क्लब, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् ।
त्रिभुवन आर्मीसहित नेपाल पुलिस क्लब, एपीएफ, थ्री स्टार, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, संकटा एफसी, एनआरटी, सहारा क्लब, ब्रिगेड ब्वाइज क्लब युके, थण्डरबोल्ट नर्थ युनाइटेड भारत, ब्ल्याक बुल्स, उज्बेकिस्तान छन् । आहाराराको सफल टोली मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी छैन ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेतालाई ६ लाख १ हजार नगद पुरस्कार पाउनेछन् ।
आहारारा पोखरा गोल्डकपबाट बचत हुने रकम क्लबबाट आयोजक सहाराले क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । एकेडेमीमा ३० जना बालक आश्रित छन् । प्रतियोगिताको सम्पूर्ण खेल अनलाइनखबरले लाइभ अपडेट गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्