आवासीय चिकित्सकहरुले गरे ओपीडी सेवा तीन घण्टा बहिस्कार

काठमाडौं, २१ माघ । केहि दिनदेखि सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत आवासीय चिकित्सकहरुले ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् ।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानररप्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन् । उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने जनाएका छन् ।

आवासीय चिकित्सकहरुले यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका थिए ।

संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।

स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।

संघर्ष समितिका संयोजक डा। शेषराज घिमिरेले सरकारी सरह सेवासुविधा पाउनुपर्ने लगायतका चार बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । विरामीलाई धेरै मर्का नपरोस् भनेर तत्काललाई तीन घण्टामात्र ओपीडी सेवा बहिस्कार गरेको भन्दै उनले आफूहरुको मागलाई बेवास्ता गरे आकस्मिक बाहेकका सबै सेवा पूर्णरुपमा ठप्प पार्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्