अर्थतन्त्रका बाह्य सूचक थप मजबुत, विदेशी मुद्रा सञ्चिति उचाइमा, शोधनान्तर साढे २ खर्ब बचतमा
काठमाडौं, २० माघ। चालु आर्थिक वर्ष २०८१।८२ पहिलो ६ महिना (साउन–पुस) अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म उक्त रकम बराबर रेमिट्यान्स भित्रिएको हो । पुसमा मात्र १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ । यस वर्ष औसत १ खर्ब माथि रेमिट्यान्स आएको देखिन्छ ।
यस वर्ष रेमिट्यान्स आप्रवाहमा ४.१ प्रतिशतको मात्र वृद्धि देखिन्छ । अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स १.१ प्रतिशतले सुधार भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स १९.५ प्रतिशतले बढेको थियो ।
यस वर्ष वैदेशिक रोजगारीमा जाने युवा संख्यामा भने सुधार देखिएको छ । यस वर्ष ६ महिनामा नयाँ श्रम स्वीकृति (संस्थागत।व्यक्तिगत) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति (संस्थागत।व्यक्तिगत) लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ ।
अघिल्लो वर्ष यसै अवधिमा यो संख्या क्रमशः २ लाख ६ हजार ३ सय ९० र १ लाख ३३ हजार ९ सय ४० थियो । ६ महिनामा खुद द्वितीय आय (ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड थियो ।
प्रतिक्रिया दिनुहोस्