चार लाख लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

काठमाडौँ । भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्ति व्यवस्था र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

तथ्याङ्कअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ ।

निजी आवास पुनर्निर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घरको पुनर्निर्माण सम्पन्न भएको छ । पछिल्लो तथ्याङ्कअनुसार चार लाख ५३ हजार ६८३ घरको पुनःनिर्माण भइरहेको छ । भूकम्प अति प्रभावित १४ जिल्लामध्ये दोलखा र सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर पुनःर्निर्माण भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्