एमाले माओवादीबीच एकताः आजै निर्वाचन आयोगमा दर्ताको तयारी

काठमाडौं।  २५औँ मदन–आश्रित स्मृति दिवसका दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएकाे छ।

आज बेलुका राष्ट्रिय सभा गृहमा एक विशेष कार्यक्रमको आयोजना गरी पार्टी एकताको औपचारिक घोषणा गरिने दुवै पार्टीले कार्यसूची तय गरेका छन्।

यसअघि मदन–आश्रित स्मृति दिवसको अवसरमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले केहिबेरमा बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गर्दै दुवै नेताले पार्टी एकताको सन्देश दिनेछन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि बोलाइएको एकता संयोजन समितिको बैठकले दुई अध्यक्ष बीच बुधबार भएको समझदारीलाई अनुमोदन गर्नेछ। साेसँगै पार्टी एकताको घोषणा गर्ने निर्णय हुनेछ।

त्यसपछि दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसी एकता संयोजन समितिको निर्णय पनि अनुमोदन गर्ने तय भएकाे छ। र दुवै पार्टी अाैपचारिक रुपमा विघटन भएको घोषणा गरिनेछ।

सोपश्चात् दुवै पार्टीका नेताहरू बालुवाटारमा जम्मा हुनेछन्। अाजै दुवै पार्टीका प्रतिनिधिहरुले ‘नेपाल कम्युनिष्ट पार्टी’काे नाममा निर्वाचन आयोगमा दल दर्ताको तयारी गर्नेछन्। दल दर्तापछि सभागृहमा पत्रकार सम्मेलन गरेर पार्टी एकताको औपचारिक घोषणा गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्