बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढाउने प्रकाशमान सिंहको उद्घोष
काठमाडौं, २३ पुुुस । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढाउने बताएका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार काठमाडौं उपत्यकाका नगर प्रमुख एवं उपप्रमुहरूसँग प्रस्तावित बागमती कार्ययोजनाबारे छलफलमा उनले यस्तो बताएका हुन् ।
‘बागमती कार्ययोजना टुटेको थियो । फेरि यसलाई निरन्तरता दिएका छौं । बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अगाडि बढाउँछौं, प्रकृतिमैत्री प्रविधिको उपयोग गर्नुपर्छ,’ उनले भने ,‘यहाँको वातावरण सुहाउने गरी योजना अघि बढाउँछौं । कार्ययोजनामा छलफलमा आएका सुझावहरू समेटेर, सरोकारवालासँग छलफल गरेर अन्तिम रूप दिन्छौं,’ सिंहले भने ।
बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका १७ वटा अरू नदीको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपसहरी क्षेत्र, सहरी क्षेत्र र तल्लो क्षेत्र गरी ५ भागमा वर्गीकरण गरेर अध्ययन गर्नेछ ।
२० वर्षे कार्ययोजनाको लागत अनुमान २ खर्ब २५ अर्ब ३१ करोड १६ लाख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना २०२४–४४ माथि छलफल आयोजना गरेको हो ।
छलफलमा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कार्ययोजना सकारात्मक रहेको भन्दै हरियाली जोगाउने गरी प्रकृतिमैत्री रूपमा योजना अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा सहभागी काठमाडौं उपत्यकाका नगर प्रमुख एवम् उपप्रमुखहरूले बागमती करिडोरलाई व्यवस्थित गर्ने, हरियाली कायम गर्नेगरी कार्ययोजना बनाउनु पर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्