सार्वजनिक यातायातको भाडा बढ्यो

काठमााडौं, २२ पुस । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारबाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ ।

यस पटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागको भनाई छ । पछिल्लो सयम ३१ साउन २०८० मा भाडा समायोजन भएपछि आज नयाँ भाडादर तोकिएको हो ।

भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ११ पुस २०८१ मा विभागलाई सहमति दिएका थिए । विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाउने निर्णय लिइएको हो ।

यसैगरी श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मूख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत विभागले जनाएको छ ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दशैंमा अग्रिम बुकिङ खुलाउने क्रममा व्यवसायीसँग भएको सहमति अनुसार सरकारले मूल्य समायोजन गरेको भन्दै खुसी व्यक्त गरे । यो गत वर्षसम्मको मूल्यमा आधारित रहेर समायोजन गरिएको भन्दै उनले यसबीचमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढ्दा समेत भाडा समायोजन नभएको बताए ।

तोकिएको भाडामा डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप रकम लिन सक्ने विभागले जनाएको छ । यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ।

यसका साथै सुपर डिलक्स सुविधा लिएका सवारी साधनले समेत थप २० प्रतिशत भाडा लिन पाउने गरी प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्