अत्यधिक तरलता भएपछि राष्ट्र बैंक ७० अर्ब तान्दै
काठमाडौं,१४ पुस । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ७० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
राष्ट्र बैंकले यो २१ दिने निक्षेप संकलन उपकरणको माघ ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्