तरलता अधिक भएपछि आज ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं,९ पुस । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट निरन्तर तरलता खिच्न थालेको छ । आज पनि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ४० अर्ब खिच्न लागेको हो ।

अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ । अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल छ । जसले गर्दा केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ । गत आइतबार पनि केन्द्रीय बैंकले ६० अर्ब खिचेको थियो । केन्द्रिय बैंकले आज समेत गरि एक हप्तामा १ खर्ब रुपैयाँ प्रणालिबाट खिच्ने भएको हो ।

राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो ।

राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंकहरुले पुस ९ गते बेलुका २ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्यूनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्। ।

सबैभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने बैंकको आवेदन पहिलो प्राथमिकतामा पर्नेछ ।

अहिले पनि बैंकहरुमा कर्जा माग नभएपछि बैंकहरुले लगानी गर्न सकेका छैनन् जसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ । तरलता सन्तुलन राख्न केन्द्रीय बैंकले निरन्तर तरलता खिच्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्