माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा

काठमाडौं,८ पुस । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन्।  सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी सांसद मोदीले समिति सरकारको छायाजस्तो देखिएको भन्दै सभापति पोखरेलको राजीनामा माग गरे ।

सरकारलाई चेक एण्ड व्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले राजिनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने उनको भनाइ छ । सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले यसका विषयमा जवाफ दिनुपर्ने बताए । सांसद मोदीले लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्ने पुनः दोहोर्‍याए ।

त्यस्तै एमाले सांसद योगेश भट्टराईले लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको अवस्थामा प्रष्ट पार्नुपर्ने बताए । आर्थिक लेनदेनमा आफू ठीक ठाउँमा उभिएमात्रै अरूमाथि नियमन गर्न सहज हुने उनको भनाइ छ । उनले सभापति र उनको परिवारका विषयमा कुरा उठिसकेपछि न्यायिक निरुपणमा जान सुझाव दिए । भट्टराईले समिति सभापति परिवर्तन गर्ने विषयमा राजनीतिक समझदारी आवश्यक रहेको बताए ।

समिति सभापति ऋषिकेश पोखरेलले नीतिगत रूपमा आफूमाथि उठेका विषयमा विभिन्न ठाँउमा जवाफ दिएको बताए । कानुनी प्रक्रियामा रहेका विषयको सबै परीक्षामा समावेश हुन आफू तयार रहेकाले उनले बताए । उनले सभापति चयनका विषयमा दलहरूबीचको सहमति स्वीकार्य हुने बताए ।
चार महिनापछि बसेको बैठकमा बेरुजु छलफलको प्रगति समीक्षासम्बन्धी विषयमा सामान्य छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्