नेपालले साउनदेखि मंसिरसम्ममा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात
काठमाडौं,६ पुस । नेपालले चालू आ.व.२०८१/८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्ममा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी करिब ८ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।
साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात गरेको प्राधिकरणले मङ्सिरमहिनामा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्रको विद्युत् भारतत निर्यात गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण मुख्य रुपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो ।
अहिले विद्युत निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत आयोजनाहरूको उत्पादन कमी भई देशभित्रको विद्युत माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नु पर्ने छ । यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु भइसकेको छ ।
चालू आवमा करिब ३० अर्ब रुपैयाँ विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ ।
माथिल्लो तामाकोशी आगामी पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ । त्यस्तै, काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जान्छ ।
प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्