अमेरिकी डलरले बनायो अर्को नयाँ रेकर्ड, नेपाली रुपैयाँ झनझन कमजोर
काठमाडौं,४ पुस । अमेरिकी डलरको भाउले दिनानुदिन नयाँ रेकर्ड कायम गरेको छ । यसैबीच आज पनि नयाँ उचाईमा पुगेको छ । अमेरिकी डलरको मजबुतीसंगै नेपाली रुपैयाँ भने झनझन कमजोर भएका हो ।
नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ २३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ६३ पैसा छ । हिजो बुधबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ १४ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।
आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०५ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ २२ पैसा र खरिद दर १७२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ११ पैसा र बिक्रीमा ९४ रुपैयाँ ६९ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्