हावाहुरीले तराईका ठाउँठाउँमा विद्युत सेवा अवरुद्ध
काठमाडौं । हावाहुरीका कारण तराईका धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । पोल ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको हो । ट्रान्सफरमर नै जलेको ठाउँबाहेक अरु ठाउँमा बेलुकीदेखि विद्युत सेवा सञ्चालन गर्नेगरी मर्मतको काम भैरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार महेन्द्रनगर, कोहलपुर, नेपालगञ्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र अनारमनिसम्म विद्युतको खम्बा र तार मर्मतको काम बेलुकीसम्ममा सक्ने तयारी छ । मर्मतको काम सकिएपछि विद्युत आपूर्ति हुने उहाँले जानकारी दिनुभयो ।
तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको उहाँले बताउनुभयो । तराई–मधेश क्षेत्रमा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन मर्मतको काम भैरहेको हो ।
आइतबार बेलुकी आएको हावाहुरीका कारण ३३ केभी र ११ केभीका प्रसारण लाइन प्रभावित भएका हुन् । यस्तै कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समस्या आएको छ ।
हावाहुरीका कारण पोल तथा तार ढलेको र लत्रेको भए प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा जिल्ला कार्यालयलाई जानकारी दिन समेत उहाँले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्