तरलता व्यवस्थापनमा राष्ट्र बैंकलाई सकस, बैंकहरूमा थुप्रियो पैसा
काठमाडौं, २४ मंसिर । बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस भएको छ।
बैंकिङ प्रणालीमा दिनप्रतिदिन तरलता वृद्धि हुने क्रम जारी छ। ब्याजदर कम हुँदा पनि कर्जाको माग सोचेजस्तो नहुनुले बैंकमा लगानीयोग्य रकम थुप्रिरहेको छ। फलस्वरुप सीडी रेसियो निरन्तर घट्दो छ। आगामी दिनमा ब्याजदर अझै घट्ने सम्भावना देखिन्छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६६ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो दिन बैंकिङ प्रणालीमा ६६ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो ।
यसअवधिमा बैंकहरुले ५३ खर्ब १२ अर्ब कर्जा लगानी गरेका छन। बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.६१ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ६८ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ।
बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । रेमिटेन्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा लामो समयदेखि अधिक तरलताको समस्या रहेको छ । राष्ट्र बैंकलाई पनि वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न सकस परेको छ ।
प्रतिक्रिया दिनुहोस्