एनपिएलको टिकटमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूलाई पचास प्रतिशत छुट

काठमाडौं, १५ मंसिर । त्रिभुवन विश्वविद्यालमा अध्ययनरत विद्यार्थीहरूले नेपाल प्रिमियर लिग (एनपिएल)को टिकटमा पचास प्रतिशत छुट पाउने भएका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबारदेखि सुरू हुने एनपिएल हेर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूलाई साधारणतर्फको टिकटमा पचास प्रतिशत छुट दिने सहमति भएको नेपाल क्रिकेट संघले जनाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्ति अनुसार क्यान र त्रिविबीच भएको सम्झौताबमोजिम हाल कामय गरिएको साधारणतर्फको टिकट खरिदमा त्रिविका विद्यार्थीहरूका लागि पचास प्रतिशत छुटको व्यवस्था गरिएको हो।

एनपिएलको उद्घाटनमा शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुने खेलको टिकट भने यसअघि नै बिक्री भइसकेको छ।

लिग खेलको टिकट मूल्य साधारण तर्फ ३ सय रूपैयाँ तोकिएको छ। प्लेअफ र फाइनल खेलको साधारणतर्फको टिकट मूल्य पाँच सय रूपैयाँ छ।

सम्झौताबमोजिम अब त्रिविका विद्यार्थीले लिग खेलका लागि साधारणतर्फको टिकट खरिद गर्दा १५० रूपैयाँ र प्लेअफ र फाइनलको टिकट खरिद गर्दा २५० रूपैयाँ मात्रै लाग्नेछ।

एनपिएलका सबै खेलहरू स्टार स्पोर्ट्स नेटवर्क र डिजिटलतर्फ एक्सन स्पोर्ट्सको युट्युब च्यानलमा प्रसारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्