इन्दिराको साहित्यिक कृति ‘अचला’ बिमोचित, साहित्यको संरक्षण गर्न पहिला आफैं सुध्रिनु पर्छः संरक्षक शर्मा

काठमाडौं, १३ मंसिर । शमी साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति र स्रष्टाका संरक्षण, सम्वद्र्ध र प्रवद्धन गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि सबैभन्दा पहिला हामी आफैं सुध्रिनु पर्ने बताउनुभयो ।

गुञ्जन (नारी साहित्य संस्था)ले आयोजना गरेको इन्दिरा दीक्षितद्वारा लिखित खण्डकाव्य ‘अचला’ को विमोचन कार्यक्रममा बोल्दै शर्माले जबसम्म कृतिहरु हामी आफैंले किनेर पढ्दैनौ तबसम्म नेपाली साहित्यको कहिल्यै पनि उन्नती र प्रगति नहुने बताउनुभयो । उहाँले साहित्यका पुस्तकहरु किनेर पढ्ने संस्कारको विकास हुन आवश्यक भएको तर्क गर्नुभयो । यसबाट मात्र लेखक र प्रकाशक दुवैलाई न्याय हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘किताब किनेर नपढ्ने, पुरस्कार पनि माग्ने परम्परा जस्तै बन्न पुगेको छ, यसको अन्त्य हुन आवश्यक छ । साहित्य क्षेत्रका हस्ती र नवप्रवेशीलाई एउटै टोकरीमा राखेर हेर्न मिल्दैन । साहित्यमा त्याग, तपस्या, योगदान र बलिदानको सही मूल्यांकन हुन आवश्यक छ । हामीकहाँ एउटा किताब वा कविता, कथा, साहित्यिक कृति लेख्नासाथ महान साहित्यकार भनिदिने प्रचलन छ । यसले गर्दा साच्चिकै नेपाली साहित्यमा त्याग, बलिदानी गरेकाहरुको अवमूल्यन भएको छ ।’ नेपाली साहित्यलाई प्रवद्र्धन र सम्वद्र्धन गर्नका निमित्त लेखक, प्रकाशक एक ढिक्का भई महान सहित्यकारहरुलाई उचित सम्मान, पुरस्कृत, गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित खण्डकाव्य आज एक समारोहकाबीच साहित्यकार तथा समाजसेवी भद्रकुमारी घलेको प्रमुख आतिथ्यतामा भएको हो । इन्दिरा दीक्षितद्वारा लिखित खण्डकाव्य अचला खण्डकाव्यले नेपाली साहित्यमा एउटा इट्टा थप्ने काम गरेको घलेले बताउनुभयो । उनले म एक जनजातीकी छोरीले आज पन्चानब्बे वर्ष हुँदै गर्दा दुइ सय बयानब्बे किताब लेखें भने तपाईहरु पनि लाग्नुस यसको लागि मेरो आर्शिवाद छ । उहाँले भन्नुभयो, ‘राज्य र लेखक साहित्यकार सबैको सहयोग र सहानुभूति भएमा पक्कै पनि नेपाली साहित्यलाई सम्वद्र्धन गर्न सकिन्छ त्यसको लागि इच्छाशक्ति आवश्यक छ ।’

नेपाली साहित्यलाई न्याय गर्न कृतिहरु अध्ययन गर्न आवश्यक रहेको बताउनु हुँदै उहाँले भन्नुभयो, ‘मैले कुनै पनि कृृति पढिन त्यसैले मलाई साहित्यिक ज्ञान कम छ । मैले पनि पढेको भए भाषा सरल र मिठास हुन्थ्यो होला यो मेरो कमजोरी हो । यसलाई मैले स्वीकार्दै गएको छु । तपाईहरुले पनि साहित्यलाई ग्रहण गर्न आग्रह गर्दछु ।’

खण्डकाव्यको समीक्षा गर्दै प्रा.डा. लेख निरौलाले कृति अत्यन्त मार्मिक र सरल ढंगले लेखिएको हुँदा सबैले लय मिलाएर पढ्ने सक्ने बताउनुभयो । उहाँले कृतिमा चारवटा आख्यानात्मक/ निवब्धनात्कमक सिर्जनधर्मिताबाट अझै अन्तमुर्खी हुँदै काव्यात्मक लालित्यतर्फ उन्मुख पाँचौ उपहारका रुपमा अचलले प्रवेश पाएको बताउनुभयो । यसले काव्यकी नायिका अचलाका रुपमा स्वयम उर्वरा भुमिझै जीवनजगतमा पूर्णता दिन चाहेको देखिएको बताउनुभयो । यसले नेपाली साहित्यलाई अझैं जीवन्त बनाएको उहाँको भनाई छ ।

लेखक इदिरा दीक्षितले यो कृतिलाई सबैले ग्रहण गरी सल्लाह, सुझाव दिन आग्रह गर्नुभयो । उहाँले मैले आफ्नो गृहस्त जीवनबाट मुक्त भएर यो कृति ल्याउन सफल भएको बताउनुभयो । दीक्षित वि.सं. २०२२ असोज २५ गते पिता बद्रीनाथ दीक्षित र माता विष्णुकुमारी अर्यालको कोखबाट जन्मएकी हुन् ।

उहाँका सम्बन्धका घुम्तीहरु (कथासङ्ग्रह), विचरित पाइलाहरु (नियात्रासङ्ग्रह), परदेशी मित्र (कथासङ्ग्रह) गतिशिल जिन्दगी (संस्मरणसङ्ग्रह) यस अघिनै प्रकाशन भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्