नयाँ अध्यक्ष श्रेष्ठलेले धितोपत्र बोर्डको कार्यभार सम्हाल्दै गर्दा भने सरकारको निर्देशन बमोजिम नयाँ स्टकलाई लाइसेन्स प्रदान गरिनेछ

काठमाडौं, १२ मंसिर । नेपाल धितोपत्र (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने योजना पहिलो प्राथमिकता राखेको र नयाँ स्टक एक्स्चेन्जका विषयमा सरकारको सहयोग लिएर अघि बढ्ने बताएका छन् ।

बुधबार बोर्डमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले सरकारको नीति निर्देशनअनुरूप नयाँ स्टक एक्सचेञ्ज ल्याउने बताए ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले सेयर बजारलाई दीर्घकालसम्म सञ्चालन गर्ने गरी काम गर्ने योजना रहेको दावी गरे । पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि काम गर्ने उनले बताए ।

‘लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्छु, लगानीकर्ताको लगानी सुरक्षालाई प्राथमिकतामा राख्नेछु, सेयर बजार मात्र नभई समग्र अर्थतन्त्र नै चलायमान बनाउनु छ, देशको अर्थतन्त्र र आर्थिक विकासका लागि पुँजी बजारलाई सदुपयोग गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सेयर बजारको क्षेत्र ठूलो छ, सेयर बजार पुँजी बजारको सानो हिस्सामात्रै हो । हामीले समग्र पुँजी बजारलाई नै विकास गर्नुपर्छ ।’

साथै धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा विगत लामो समयदेखि सेयर निष्कासनका लागि दर्जनौं कम्पनी पाइपलाइनमा छन् । प्रक्रिया पुर्‍याएर ती कम्पनीलाई रोकिएको सेयर निष्कासन समयमा नै आउन थाल्ने पनि बताए । पुँजी बजारमा हुने गलत क्रियाकलापको निगरानी र नियन्त्रणमा आफ्नो बढी जोड रहने उनको भनाइ छ । बाँकी काम सम्बन्धित बोर्डका महाशाखासँग मिलेर गर्ने घोषणा गरे । उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्