सरकारी निकायले बुधबारदेखि नै दशैंका लागि नयाँ नोट साट्न पाउने ब्यवस्था

काठमाडौं । बडा दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागबाट बुधवारबाट नयाँ नोट साट्न सकिने ब्यबस्था मिलाएको छ । तर, यस्तो सुविधा संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य सङ्घ/संस्थालगायतलाई सम्बन्धित निकायको पत्रको आधारमा नयाँ नोट सटही सुविधा दिएको राष्ट्र बैङ्कले बताएको छ ।

सर्वसाधारणका लागि भने भदौ २८ गतेदेखि बैङ्क तथा वित्तीय संस्थामार्फत नयाँ नोट साट्ने ब्यवस्था गरिएको छ । सर्वसाधारणले नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्कका शाखाहरूबाट पुराना नोटसँग नयाँ नोट साट्न पाउने छन् ।
सर्वसाधारण नागरिकले तोकिएका बैङ्कहरूबाट ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोट प्रतिव्यक्ति अधिकतम रू. २० हजार र राष्ट्र बैङ्क मुद्रा ब्यबस्थापन विभागबाट अधिकतम रू.२७ हजारसम्म साट्न पाउने राष्ट्र बैङ्कले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्