सुन तस्करी र हत्या मुद्दा, प्रतिवादीतर्फको बहस आजदेखि

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीका कानुन व्यवसायीले आइतबारदेखि अदालतसमक्ष ‘थुनछेक बहस’ सुरु गर्ने भएका छन् । मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाका तर्फबाट बहस हुने भएको छ ।

यसअघि सरकारका तर्फबाट ७ जनाले जिल्ला अदालत मोरङसमक्ष बहस गरेका थिए । बिहीबार र शुक्रबार गरी दुई दिन चलेको बहसमा उनीहरूले उपलब्ध प्रमाणका आधारमा प्रतिवादीहरू कसुरदार देखिएको भन्दै थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन माग गरेका थिए ।उनीहरूले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गर्नेछन् ।

प्रतिवादीतर्फको बहस दुईरतीन दिनमा सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसपछि इजलासबाट कसलाई थुनामा राख्ने वा छाड्नेबारे आदेश हुने अदालत स्रोतले जनाएको छ ।

प्रतिवादीतर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराइसकेका छन् । बहसमा सहभागी हुन काठमाडौंबाट समेत कानुन व्यवसायी जाने भएका छन् । यस्तै मोरङ, सुनसरी, झापालगायत स्थानका कानुन व्यवसायीले पनि प्रतिवादीका तर्फबाट नाम दर्ता गरेका छन् ।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियोगपत्रसाथ अभियुक्तका बयान, टेलिफोन कुराकानी, जंगलमा शाक्यलगायत समूहलाई दिइएको यातना जस्ता गतिविधिको श्रव्यदृश्य समेटिएको २५ वटाभन्दा बढी ‘सीडी’ अदालतसमक्ष प्रमाणका रूपमा पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्