तिहारमा नेपालकै फूलमालालाई नै प्राथमिकता दिन र बाहिरबाट आयात रोक्न सरकारसँग नेपाल सयपत्री फूलमाला उत्पादक केन्द्रीय संघको जोडदार माग
काठमाडौं, ११ कार्तिक । भारतबाट आयात हुने सयपत्री लगायतका फूलमाला रोक्न नेपाल सयपत्री फूलमाला उत्पादक केन्द्रीय संघले सरकारसँग माग गरेको छ ।
तिहारमा बढी माग हुने फूलमाला भारतबाट आउँदा नेपाली किसानहरुले आफूले उत्पादन गरेका फूलमालाले बजार भाउ नपाउने गुनासो गर्दै आएका छन् ।
नेपाल सयपत्री फूलमाला उत्पादक संघका केन्द्रीय अध्यक्ष बालकृष्ण चौलागाईंले तिहार लगायत चाडपर्व आउन थालेपछि नेपाली फूलमाला उत्पादक किसानहरुलाई अप्ठेरोमा पार्ने काम हुँदै आएको बताउँछन् । त्यसैले भारतबाट आउने सयपत्री लगायतका फूलमालाको आयातमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको उनले बताए । यस वर्ष नेपालकै धेरै ठाउँमा खेती गरिएका सयपत्री फूलले बजारको प्रतिक्षा गरिरहेको उनको भनाइ छ ।
‘नेपाल सरकारलाई त्यो भारतीय फूलमाला रोक्नको लागि अनुरोध गर्दछौं र सम्पूर्ण सयपत्री फूलमाला उत्पादक किसानलाई सजग रहन र भारतीय फूलमाला रोक्न अनुरोध गर्दछौं,’ अध्यक्ष चौलागाईंले भने । नेपाली सयपत्री फूलमाला मात्रै प्रयोग गर्न पनि उनले अनुरोध गरे ।
दीपावली आउनै लाग्दा फ्लोरीकल्चर एसोसिएसनले नेपाली किसानले उत्पादन गरेको फूलमालाले नेपाली बजारको माग नधान्ने र भारतीय बजारबाट थप माला नेपाल आयात गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै उनले खेद प्रकट गरे ।
प्रतिक्रिया दिनुहोस्