सेयर कारोबार सातामै २७ प्रतिशतले बढ्यो

काठमाडौं । सेयर बजारमा यो साता २७ प्रतिशतले कारोबार बढेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम २७.७६ प्रतिशतले बृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्से परिसुचक अघिल्लो साताको तुलनामा ५.१९ अंकले घटे पनि कारोबार रकममा भने बृद्धि देखिएको छ । साताको अन्तीम दिन नेप्से १ हजार ३ सय ४८.४५ अंक कायम भएको छ ।

नेप्सेका अनुसार गत साता एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरका ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । यो साता भने दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । गत साता भने १७६ कम्पनीहरुको कारोबार भएको थियो ।

नेप्सेमा यो साता ३५ लाख ८ हजार कित्ता सेयर सूचीकृत भएका छन् । यो साता कन्काई बिकास बैंकको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । काबेली बिकास बैंकको ३ लाख ५० हजार र इन्भेस्टमेन्ट एनड फाइनान्स कम्पनीको २८ लाख ६७ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्