डेंगु सङ्क्रमणबाट गण्डकीमा सात जनाको मृत्यु

काठमाडौं, २३ असोज । गण्डकी । डेंगु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो ।

त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिए । उनका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेंगु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म ६ हजार४५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

गत जनवरीमा जम्मा ७० जनामा डेंगु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो । अधिकृत शर्माले गत जुलाईयताडेंगुको सङ्क्रमण दर बढ्दै गएको बताए । जुलाईमा ७२८, अगष्टमा ४ हजार ८३, र सेप्टेम्बरमा ६ हजार ७२० जनामा डेंगु देखिएको उनले जानकारी दिए ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा ६ हजार ५४८ र सबैभन्दा कम मनाङमा जम्मा २ जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो ।

तनहुँमा २ हजार ८६१, पर्वतमा १ हजार १४६, गोरखामा ६६४, बागलुङमा ५३९, स्याङ्जामा ४४३, म्याग्दीमा २१३, नवलपुरमा १८१, लमजुङमा १२० र मुस्ताङमा ९ जनामाडेंगु सङ्क्रमण पुष्टि भएको छ ।

असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमणको बढी जोखिम हुने चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेंगुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने सुझाव दिइएको छ ।

डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्