भारतीय प्रधानमन्त्री मोदीद्वारा १ अर्ब दिने घोषणा

काठमाडौं । दुई दिने राजकिय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकास र समृद्धीका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् ।

भ्रमणका क्रममा मोदीलाई शुक्रबार जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । कार्यक्रममा उनलाई जनकपुर नगरको साँचो हस्तान्तरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रदेश २ को विकासका लागि १ अर्ब सहायता घोषणा गरेका हुन् ।

जनकपुर जयनगर रेल यो वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको भन्दै उनले यसले नेपाललाई भारतको रेल सञ्जालमा जोड्ने बताउँदै रक्सौल काठमाडौं रेलका साथै जलमार्गबाट पनि नेपाललाई भारतलाई जोड्न चाहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री मोदीले ‘छिमेकी पहिलो’ भन्ने भारतको नीति रहेको र नेपाल पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाल अभियान आफ्नो सबका साथ सबका विकास अभियानसँग मेल खाने भन्दै यसलाई सफल बनाउन भारतले सक्दो सहयोग गर्ने बताए ।

नेपाल भारत सम्वन्ध राजनीति, कूटनीतिसँग देव नीतिले पनि बाँधिएको चर्चा गर्दै उनले भने, ‘व्यक्ति र सरकार त आउँछ, जान्छ प्रकृया हो । तर, हाम्रो सम्वन्ध अमर छ ।’
साथै मोदीलाई जनकपुरमा १२१ किलोको तीनवटा मालाले अभिनन्दन गरिएको छ ।
उनलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर अभिनन्दन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्