अमेरिकी राजदूत र सभामुख बीच भेटवार्ता

काठमाडौ । नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिज र सभामुख कृष्णबहादुर महराबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

उक्त भेटवार्ता सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको थियो । सो भेटवार्तामा दुई देश बीचको आपसी मित्रता, सहयोग, सद्भाव, सहकार्य र संसदीय मैत्री संघ लगायतका विषयमा छलफल भएको थियो ।

सभामुख महराले नेपाल र अमेरिका बीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँनु भयो र यो सम्वन्ध, आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा आफुले ढुक्क भएर बिश्वास गरेको व्यक्त गरेका सभामुखका सल्लाहकार डिल्ली मल्लले जानकारी दिए।

संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर नेपालले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको उल्लेख गर्दै उहाँले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

सभामुख महराले संविधान निर्माणका साथसाथै तीन चरणका निर्वाचन सम्पन्न गरेर तीनै तहमा सरकार निर्माण गरिसकेका छौं त्यसैले अब हाम्रो मुख्य प्राथमिकता भनेको संविधान अनुसार ऐन कानून निर्माण गर्नु हो भने ।
सरकारले नीति, कार्यक्रमसहित आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने, संसद् नियमावली बनाउनेदेखि थुप्रै नयाँ कानूनहरु निर्माण गर्नुपर्ने छ त्यसैले भर्खरै अधिवेशन पनि भएकाले अहिलेको अधिवेशन निकै महत्वपूर्ण भएको सभामुख महराले बताए ।
भेटघाटको अवसरमा नेपालका लागि अमेरिकी राजदूत टेप्लिजले विधिको शासन र लोकतन्त्रप्रति नेपाल प्रतिबद्ध रहेकाले अब बन्ने कानूनहरु बढीभन्दा बढी समावेशी र लोकतान्त्रिक बन्नेमा आफू विश्वस्त रहेको बताए ।
सो भेटवार्तामा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, प्रवक्ता डा भरतराज गौतम लगायतको उपस्थिति थियो ।
अमेरिकी सरकारले अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत आर्थिक सहायता प्रदान गरिरहेको भन्दै त्यसको निरन्तरताका लागि सभामुख महराले आग्रह पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस्