प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा दुई घण्टा वार्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा दुई घण्टा वार्ता भएको छ ।

दुई वाम पार्टीको एकता प्रक्रिया लम्बिरहेका बेला अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे १० बालुवाटार छिरी २ घण्टासम्म एक्ला–एक्लै वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत वैशाख २० गते पनि ओली–प्रचण्डबीच दुई पटक वार्ता भएको थियो । गत वैशाख १४ गते दुई नेताबीच भएको वार्तामा एकताको अन्तिम टुंगो लागेको बताउँदै वैशाख २३ गते एकताको मिति घोषणा गरिने बताइएको थियो ।

तर, अझै पनि एकताको मिति तय हुन सकेको छैन । नेताबीच बुधबार बिहान एक्ला एक्लै वार्ता भएको हो ।

एकता प्रक्रिया अन्योलमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले सोमबार आफ्नो निजी ट्वीटर ह्यान्डलबाट फेरिँदो राजनीतिक समीकरणबारे कडा टिप्पणी समेत गरेका थिए ।

प्रमको निजी ह्यान्डलबाट गरिएको उक्त ट्वीटले राजनीतिक तरंग नै ल्याएको थियो । ओलीको उक्त ट्वीटबारे माओवादी अध्यक्ष प्रचण्डले पनि असन्तुष्टि जनाउँदै त्यसबारेमा पनि कुरा गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्