घरेलु कामदारको तलब तोक्ने मन्त्रालयको तयारी, साउनदेखि मजदुरको तलब १५ हजार !

काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा कार्यरत श्रमिकहरुको मासिक तलब बढाउने गृहकार्य थालेका छन् । हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ पुर्‍याउने श्रम मन्त्रालयको तयारी छ ।

साथै श्रमिकमाथिको शोषणलाई अन्त्य गर्न बैंकमार्फत अनिवार्य भुक्तानीको व्यवस्था गर्न पनि मन्त्री विष्टले गृहकार्य थालेका छन् ।
यसका लागि श्रम नियमावली संशोधनको तयारी भइरहेको छ । सरकारले साउन १ गतेदेखि मजदुरको नयाँ न्युनतम् पारिश्रमिक तोकेर लागू गराउन गृहकार्य गरिरहेको मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले बताए ।
यसका लागि ऐनले गरेको व्यवस्था बमोजिम न्युनतम् पारिश्रमिक निर्धारण समिति गठनको तयारी भइरहेको छ ।

सरकारले अब मजदुरको न्युनतम् तलव १५ हजारभन्दा माथि लैजाने योजना बनाएको छ । तर, समितिले गर्ने सिफारिसका आधारमा मन्त्रालयले त्यसको अन्तिम निर्णय लिनेछ ।

यसपटक घरेलु कामदारको पनि तलब तोक्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

ट्रेड युनियनहरुले पनि अहिले ९ हजार ७ सय रुपैयाँ रहेको न्यूनतम तलवले श्रमिक बाँच्न सक्ने अवस्था नरहेकाले १५ हजारभन्दा बढी बनाउन माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्